एक्लो जीवन बिताउँदै आएका वृद्ध बाँके खोला नजिक मृत फेला

२०८२ असार १७, मंगलवार १८:१४
file image

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानस्थित बाँके खोलानजिक एक वृद्धको शव फेला परेको छ। बर्दिबास नगरपालिका–१०, खयरमाराका अन्दाजी ६० वर्षीय बद्री भुजेल मृत अवस्थामा भेटिएका हुन्।

स्थानीय बासिन्दाका अनुसार भुजेलका श्रीमती, छोराछोरी कोही नभएका कारण उनी गाउँघरमा एक्लै डुलिरहन्थे। घारिबथानतर्फ गाईवस्तु चराउन गएका व्यक्तिहरूले बुधबार साझपख उनलाई उक्त क्षेत्रमा हिँडिरहेको अवस्थामा देखेका थिए।

तर बिहीबार दिउँसो त्यही क्षेत्रबाट गाईवस्तु चराएर फर्किरहेका स्थानीयले भुजेललाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार भुजेलको मृत्यु सामान्य देखिएको छ।

“हिँड्दा थकाइ लागेर बसेकै ठाउँमा मृत्यु भएको जस्तो देखिन्छ,” जोशीले बताए। प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा घटनास्थलको प्रारम्भिक विवरण संकलन (मुचुल्का) गरिसकिएको र मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार