जनकपुर – अफगानिस्तानमा २०२१ मा तालिबानले सत्ता सम्हालेयता अन्तर्राष्ट्रिय स्तरमा मान्यता नपाइरहेको अवस्थामा रुसले तालिबान नेतृत्वको सरकारलाई आधिकारिक मान्यता दिएको छ। यससँगै, तालिबानलाई औपचारिक मान्यता दिने पहिलो मुलुकको रूपमा रुस अगाडि आएको हो।
रुसी विदेश मन्त्रालयले अफगानिस्तानका लागि नयाँ नियुक्त अफगान राजदूत गुल हसन हसनबाट विश्वास पत्र ग्रहण गर्दै तालिबान सरकारलाई मान्यता दिएको घोषणा गरेको हो। उप–विदेशमन्त्री एन्ड्रे रुडेन्कोलाई हसनले आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरेसँगै रुसले तालिबान सरकारलाई औपचारिक मान्यता दिएको पुष्टि भएको हो।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “हामी विश्वास गर्छौं, अफगानिस्तानको इस्लामिक इमिरेट्स सरकारलाई मान्यता दिँदा द्विपक्षीय सहयोगको विकासलाई नयाँ गति मिल्नेछ। ऊर्जा, यातायात, कृषि र पूर्वाधार क्षेत्रमा साझा परियोजनामार्फत व्यापारिक सम्बन्धलाई बलियो बनाउने सम्भावना देखिएको छ।”
रुसले क्षेत्रीय सुरक्षालाई मजबुत पार्न, आतंकवाद र लागूपदार्थ सम्बन्धी अपराधको जोखिमसँग लड्न अफगानिस्तानलाई सहयोग गर्न आफू तयार रहेको पनि स्पष्ट पारेको छ। यस निर्णयलाई अफगानिस्तानको तालिबान नेतृत्वले ‘सकारात्मक र महत्त्वपूर्ण’ भन्दै स्वागत गरेको छ।





