सर्लाही – चन्द्रनगर गाउँपालिकाले चालू आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको सार्वजनिक लेखाजोखा गर्दै मङ्गलबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा नाढीमन तालस्थित सभाहलमा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार यादव, शाखा प्रमुखहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरूले चालू आव २०८१/८२ मा सञ्चालन गरिएका योजना तथा तिनको कार्यान्वयन स्थिति, बजेटको उपयोग, प्राथमिकताका आधारमा योजना छनोट प्रक्रिया लगायतका विषयमा जानकारी गराएका थिए। सहभागी नागरिकहरूले बजेट खर्चको पारदर्शिता, कार्य सम्पादनको गुणस्तर र आगामी वर्षका योजनामा जनसहभागिता सुनिश्चित गर्न सुझाव दिएका थिए।
गाउँपालिकाको आयोजनामा र नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा सम्पन्न सुनुवाइमा स्थानीय तहको जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। गाउँपालिकाले हरेक वर्ष यस्तो सुनुवाइ गर्दै आएको छ। कार्यक्रममा विभिन्न वडाका नागरिक, नागरिक समाजका प्रतिनिधि, महिला समूह, युवाहरू, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।





