आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिँदै

२०८२ असार २२, आईतवार ०८:४०

सर्लाही – आज आषाढ शुक्ल एकादशी, हिन्दू धर्मावलम्बीका घरघरमा तुलसी रोपेर धार्मिक आस्था अभिव्यक्त गरिँदै छ। यो दिनलाई हरिशयनी एकादशी भनिन्छ। शास्त्र अनुसार भगवान् विष्णु आजैदेखि क्षीरसागरमा चार महिनाको योगनिद्रामा जानुहुन्छ, जसलाई चतुर्मास भनिन्छ।

यस विशेष एकादशीमा प्रायः घरघरमा पहिले नै रोपिएको तुलसीको बिरुवा आजबाट तुलसीको मोठमा सारिन्छ। तुलसीलाई विष्णुको प्रतीक मानी पूजाआजा गरिन्छ, र कार्तिक शुक्ल एकादशीसम्म निरन्तर पूजा गरिने वैदिक परम्परा छ।

चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीहरूमा व्रत बस्ने परम्परा रहे पनि सबै एकादशीमा व्रत गर्न सक्ने भक्तजन फलाहार गरी उपवास बस्छन्। व्यस्त जीवनशैलीका कारण धेरैले खास गरी हरिशयनी र हरिबोधिनी एकादशीमा मात्र व्रत गर्ने चलन बढ्दो छ।

बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, चागुनारायण, विष्णुमति र देशका विभिन्न विष्णु तथा नारायण मन्दिरहरूमा श्रद्धालुको घुइँचो लागेको देखिन्छ। व्रतालुहरूले विशेषगरी चामल परित्याग गरी रोटी, ढिँडो तथा फलफूल मात्र खाने गर्छन्।

तुलसी धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यसले वायुमण्डल शुद्ध पार्ने, अक्सिजन प्रशस्त दिने र रोग सार्ने कीटाणु टार्ने गुण भएको प्रमाणित छ। वास्तुशास्त्र अनुसार पनि तुलसीको मोठ घरमा राख्नाले सकारात्मक ऊर्जा प्रसारित हुन्छ भन्ने विश्वास रहिआएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार