भोजपुरमा एक पुरुषले गरे ससुरासहित चार जनाको हत्या

२०८२ असार २२, आईतवार ०८:५३
सांकेतिक तस्बिर

सर्लाही – भोजपुरमा एक युवाले ससुराली पक्षका चार सदस्यको हत्या गरेका छन्। जिल्लाको भोजपुर नगरपालिका – २, हेलौछाका राजेन्द्र राईले शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा आफ्ना ससुरा, सासु, श्रीमती र सालोको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राईले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर हत्या गरेको जानकारी स्वयं दिएका थिए। “ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्,” उनले भनेका थिए।

घटनापछि अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवासको टोली र जिल्ला प्रहरी कार्यालयबाट हबल्दारको टोली खटिएको थियो। प्रहरी घटनास्थल पुगेको बेला ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी, श्रीमती (१६ वर्ष) र सालो (१० वर्ष) को शव फेला परेको हो। नाबालक भएकाले श्रीमती र सालोको नाम खुलाइएको छैन।

राजेन्द्रलाई भने घटनास्थल भन्दा करिब पाँच किलोमिटर टाढा रामप्रसाद राई–१ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। उनको पेटमा धारिलो हतियारको चोट रहेको र हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

इन्सपेक्टर श्रेष्ठका अनुसार राजेन्द्रले प्रारम्भिक बयानमा शनिबार राति सासु आमाले चक्कु प्रहार गरेपछि आफूमाथि आक्रोश चढेको र त्यसकै प्रतिकृयामा चार जनाको हत्या गरेको बताएका छन्। “उनी बोल्न सक्ने अवस्थामा छन्, हत्या आफैंले गरेको स्वीकारेका छन्,” श्रेष्ठले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ।” प्रहरीका अनुसार राजेन्द्रले करिब एक वर्षअघि प्रेम विवाह गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार