सर्लाही – प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने क्षेत्रमा वैदेशिक ऋण प्रयोग गरेर लगानी गर्ने सरकारी प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले भैरहवा र पोखराका विमानस्थलहरू निर्माण भए पनि प्रयोगमा आउन नसकेको उदाहरण दिँदै, यस्ता असफल योजनामा विदेशी ऋण खर्च गर्नु राष्ट्रघाती कदम भएको बताए।
“विदेशीको ऋण लिएपछि त्यसबाट आम्दानी पनि हुनुपर्छ। तर यहाँ त ऋण लिनेबित्तिकै भ्रष्टाचारमा खप्टिने परिपाटी बनेको छ,” सांसद सिंहको आरोप थियो। उनले जनसंख्याका आधारमा पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिँदै मधेस प्रदेशको उपेक्षा गरिएको टिप्पणी गरे। “मधेसमा जनसंख्या धेरै छ, तर एयरपोर्ट छैन। एउटै प्रदेशमा दुईवटा विमानस्थल बनाइएका छन्, तर प्रयोगमा आउन सकेका छैनन्,” उनले भने।

भैरहवा र पोखरा विमानस्थल निर्माणमा गम्भीर अनियमितता भएको उल्लेख गर्दै सांसद सिंहले यथाशीघ्र छानबिनको मागसमेत गरेका छन्। उनले भने, “विमानस्थलहरूलाई सही ढंगले सदुपयोग गरौं, नत्र ऋण तिर्नै नसक्ने अवस्थामा पुग्छ देश।” सिंहले वैदेशिक ऋणले राष्ट्रको अर्थतन्त्रलाई होइन, भ्रष्टाचारलाई मलजल दिने खतरा रहेको चेतावनी दिँदै, समितिमार्फत सरकारले सही प्राथमिकता तय गर्नुपर्नेमा जोड दिए।





