सर्लाही – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हराएको भनेर औपचारिक रूपमा गृह मन्त्रालयमा पत्राचार गरेको सरकारी गाडी दुई दिनमै मन्त्रालयमै फेला परेको छ। सो गाडी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको परिवारको प्रयोगमा रहेको खुलासा भएको छ।
प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी असार १५ गते हराएको भन्दै गृह मन्त्रालयमा पठाइएको पत्रमा “गाडी जहाँ जस्तो अवस्थामा छ, खोजतलास गरिदिनुहोला” भनी आग्रह गरिएको थियो। साथै, जिम्मेवार व्यक्ति पहिचान गरी कारबाही गर्न समेत अनुरोध गरिएको थियो।

तर पत्र पठाएको दुई दिनमै उक्त गाडी मन्त्रालयमै आइपुगेको मन्त्रालयका प्रवक्ता डण्डु घिमिरेले पुष्टि गरे। “गाडी मन्त्रालयमै फर्किएको हो, तर यसबीच कसले प्रयोग गर्यो भन्नेबारे जानकारी छैन,” घिमिरेले भने।
मन्त्रालयका एक उच्च स्रोतका अनुसार सो गाडी लोसपा अध्यक्ष ठाकुरले निजी प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए। “श्रममन्त्री शरतसिंह भण्डारीकै निर्देशनमा गाडी अध्यक्ष ठाकुरलाई दिइएको थियो,” ती उपसचिवले बताए। उनका अनुसार केही समयदेखि गाडी ठाकुरको परिवारको नियमित प्रयोगमा थियो।
यस विषयमा लोसपाका महासचिव डा. सुरेन्द्र झाले भने, “अध्यक्षज्यूले कहिलेकाहीं मात्र गाडी प्रयोग गर्नुहुन्थ्यो, हामीले एक महिनाअघि नै गाडी मन्त्रालयमा बुझाइसकेका थियौं।” सचिवबाट आएको जानकारी गलत भएकाले गृह मन्त्रालयमा भ्रमपूर्ण पत्राचार भएको उनको दाबी छ।
तर मन्त्रालयका अर्का अधिकारी भन्छन्, “गृह मन्त्रालयमा पत्र पठाएपछि मात्रै गाडी मन्त्रालयमा फर्काइएको हो। गाडी फिर्ता ल्याउने जिम्मा अध्यक्ष ठाकुरका सहयोगीहरूमा थियो।”
यस प्रकरणको पछाडि मन्त्रालयभित्रको आन्तरिक खिचातानीको पनि भूमिका रहेको देखिएको छ। असार १४ गते श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करले प्रशासन शाखा प्रमुख निश्चलराज पाण्डेसँग गाडीबारे सोधपुछ गरेपछि अर्को दिन गृहमा पत्राचार गरिएको हो।
सरकारी गाडीको प्रयोगबारे देखिएको अनियमितता र त्यसलाई ढाकछोप गर्न गरिएको औपचारिक पत्राचारप्रति गम्भीर प्रश्न उठ्न थालेको छ। मन्त्रालय, मन्त्री र पार्टी नेताबीचको सम्बन्ध तथा शक्ति सन्तुलनकै कारण यस्तो अवस्था सिर्जना भएको कतिपय अधिकारीहरूको ठम्याइ छ।





