सर्लाही – रौतहटको गुजरा नगरपालिका–३ को जंगलशैया–सिम्री सडक खण्डस्थित जङ्गल क्षेत्रबाट लागू औषधसहित दुई युवक पक्राउ परेका छन्। शनिबार साँझ सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत फर्वाड सुरक्षा बेस जंगलशैयाबाट खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरू बारा जिल्लाको निजगढ नगरपालिका–८ का १८ वर्षीय नव बहादुर वाइबा (माइला) र १९ वर्षीय दावा योञ्जन रहेका छन्। दुवैले लागू औषध झोलामा लुकाइराखेको अवस्थामा फेला परेका थिए।

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतका अनुसार उनीहरूको साथबाट ३०० पिस ट्रामोडोल (५० एमजी), १४० पिस नाइट्राजेपाम ट्याब्लेट (१० एमजी), ५ पिस नेट्जेकेयर (१० एमजी), साथै नुफिन, डाइजेपाम र फेनेरगन इन्जेक्सन बरामद गरिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरू लागू औषध ओसारपसारमा संलग्न देखिएका छन्। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।





