न्यायको खोजीमा सहिद परिवार: मधेश भवन अगाडि धर्ना, ६ जना पक्राउ

२०८२ असार २२, आईतवार १८:२१

सर्लाही – सहिदका सपना बोकेका परिवारहरुले आइतबार मधेश सरकारको मुख्य प्रशासनिक केन्द्र, मधेश भवनको गेट नम्बर २ अगाडि धर्ना दिएपछि अवस्था तनावग्रस्त बन्यो। प्रदर्शनका क्रममा बाटो अवरुद्ध भएको भन्दै सुरक्षाकर्मीले ६ जना प्रदर्शनकारीलाई पक्राउ गरेका छन्।

धनुषाका डिएसपी वरुणबहादुर सिंहका अनुसार, सार्वजनिक मार्ग अवरोध गरेको भन्दै पक्राउ गरिएको हो। तर सहिद परिवार भने न्याय र हकका लागि सडकमा उत्रिनु बाध्यता भएको बताउँछन्।

उनीहरुको प्रमुख गुनासो सरकारको चालु आर्थिक वर्षको बजेटमा सहिद परिवार लक्षित कार्यक्रमहरू कटौती गरिएको र विगतका सुविधा क्रमशः हटाउँदै लगिएको हो। उनीहरुले सहिद प्रतिष्ठानमा रिक्त पदमा सदस्य नियुक्ति, परिवारका हरेक सदस्यलाई रोजगारी, तथा सम्पूर्णको स्वास्थ्य बीमा सुनिश्चित हुनुपर्ने माग राखेका छन्।

सहिद परिवारका अनुसार, अघिल्लो सरकारले “एक परिवार, एक रोजगार” योजना लागू गरी केही राहत दिएको थियो, तर वर्तमान सरकारले त्यो योजना हटाउँदै ज्यालादारी प्रणालीमा सीमित गरिरहेको छ।

“हामी सहिदका परिवार, हाम्रो त्यागलाई सम्मान गर्नुको साटो, सरकारले अधिकार कटौती गरिरहेको छ,” एक प्रदर्शनकारीले भने। “यो हाम्रो आत्मसम्मानको लडाइँ हो।” सरकारले यो विषयमा तत्काल प्रतिक्रिया दिएको छैन।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार