देशभर ४१.९% धान रोपाइँ सम्पन्न, मधेश प्रदेशमा सबैभन्दा कम

२०८२ असार २२, आईतवार २१:४६
फाईल तस्बिर

सर्लाही – धान उत्पादनको प्रमुख मौसम मानिने असार अन्त्यतिर पुग्दासमेत देशभर ५० प्रतिशत नपुगेको रोपाइँ अवस्थाले कृषिक्षेत्रमा चिन्ता थपिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २२ असारसम्म देशभर कुल ४१.९ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ।

देशभरि १३ लाख ९१ हजार ३२१ हेक्टर खेतमा धान रोपिने गरिन्छ। तर हालसम्म ५ लाख ८० हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको मन्त्रालयको तथ्यांकले देखाएको छ। यो आँकडा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै १.६ प्रतिशत कम हो। गत वर्ष २२ असारसम्म ४३.५ प्रतिशत रोपाइँ भइसकेको थियो।

प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेशले अग्रता लिएको छ। त्यहाँ हालसम्म ८२.८ प्रतिशत रोपाइँ सकिएको छ। त्यसपछि कर्णाली प्रदेशमा ७१.७ प्रतिशत, गण्डकीमा ५५.६, लुम्बिनीमा ५२.१, बागमतीमा ५१.९ र कोसी प्रदेशमा २९.५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

तर, मधेश प्रदेशको अवस्था अत्यन्त कमजोर देखिएको छ। रोपाइँ सिजनको बीच भागमा पुगेको बेलामा पनि मधेशमा १३.६ प्रतिशत मात्र धान रोपिएको छ। गत वर्ष यो अवधिमा मधेशमा २५.५ प्रतिशत रोपाइँ भइसकेको थियो। मौसमी प्रतिकूलता, सिँचाइको समस्या र श्रमिक अभावजस्ता कारणले गर्दा धेरै क्षेत्रमा रोपाइँ ढिलो भएको बताइन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार