जनकपुर – केन्याको राजधानी नैरोबीमा ऐतिहासिक सबा–साबा आन्दोलनको ३५औं वार्षिकोत्सवका अवसरमा आयोजित विरोध प्रदर्शन हिंसात्मक बन्दै जाँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । प्रहरीसँगको झडपका क्रममा ५६७ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।
७ जुलाई १९९० मा भएको बहुदलीय लोकतन्त्रको मागसहितको सशक्त आन्दोलनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । तर यसपालिको विरोध केवल ऐतिहासिक सम्झनामा सीमित रहेन, प्रदर्शनकारीहरूले भ्रष्टाचार, महँगी, बेरोजगारी र प्रहरी दमनविरुद्ध आक्रोश पोख्दै सरकारलाई लोकतान्त्रिक सुधार र जवाफदेहिताका लागि दबाब दिएका थिए ।

स्थिति नियन्त्रणमा लिन खटिएको प्रहरीले गोली चलाउँदा प्रदर्शन हिंसात्मक रूप लिएको हो । सामाजिक सञ्जालमा फैलिएका भिडिओहरूमा गोलीको आवाज र सडकमा भागदौड देखिएको छ । विरोधका क्रममा राजधानीसहित अन्य सहरहरूमा व्यापक असन्तोष देखिएको छ ।
राष्ट्रपति विलियम रुटोको नेतृत्वविरुद्ध जनआक्रोश बढ्दो छ । मानिसहरूले ‘रुटो राजीनामा दे’ भन्ने नारासहित सडक ओगटेका छन् । गत महिना जुन १७ मा एक ब्लगरको हिरासतमा मृत्यु भएपछि भएको विरोधमा पनि व्यापक जनआन्दोलन देखिएको थियो । त्यस क्रममा १६ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएका थिए ।
सरकारले विरोधको आवाज सुन्ने सट्टा दमन गरेको भन्दै मानव अधिकारकर्मीहरूले आलोचना गरेका छन् । उनीहरूका अनुसार सरकारले विरोधको लोकतान्त्रिक अधिकार हनन गर्दै जनताको आवाज दबाउन खोजिरहेको छ ।





