पूर्णिया, बिहार – बिहारको पूर्णिया जिल्लाको राजीगन्ज पञ्चायतअन्तर्गत तेटगामा गाउँमा अन्धविश्वासको नाममा एकै परिवारका पाँच जनाको ज्यान लिइएको छ। आइतबार राति भएको यस घटनामा गाउँलेहरूले बोक्सीको आरोपमा बाबुलाल उराँवको परिवारलाई कुटपिट गरी पेट्रोल छर्केर जिउँदै जलाएका थिए।
यो हृदयविदारक घटनाको खुलासा सोमबार बिहान मात्र भएको हो, जब पीडित परिवारका एक बालक आफ्ना मामाका आफन्तहरूसँग प्रहरी चौकीमा पुगेर घटनाबारे जानकारी दिए। घटना सार्वजनिक भएपछि पूर्णिया जिल्ला प्रहरी कार्यालय र डग स्क्वाड टोली घटनास्थलमा पुगेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ र घटनाको गम्भीरताका आधारमा थप अनुसन्धान भइरहेको जनाएको छ।

मृतकहरूमा बाबुलाल उराँव, उनकी पत्नी, आमा, बुहारी र छोरा रहेका छन्। पीडितका आफन्त डोमन उराँवका अनुसार बाबुलालको परिवार कुनै तान्त्रिक क्रियाकलापमा संलग्न थिएन, तर झुटो शङ्काको आधारमा गाउँलेहरूले उनीहरूलाई निर्ममतापूर्वक जलाएर हत्या गरे।
घटनापछि गाउँलेहरूले शव लुकाउने प्रयास गरेको प्रहरीले जनाएको छ। तर केही घण्टामै बालकको बयानपछि सत्यतथ्य बाहिरिएको हो। यद्यपि केही स्थानीय बासिन्दाले बाबुलालको परिवार झारफुक र बलिको काममा संलग्न भएको दाबी गरेका छन्, तर यसको प्रमाण नदेखाई गरिएको यस्तो सामूहिक हत्या कानून र मानवताविरुद्धको घोर अपराध हो।
भारतका विभिन्न राज्यहरूमा अझै पनि बोक्सीको आरोपमा हिंसा र हत्या भइरहेका छन्। यही जुलाईको सुरुमा पनि बिहारकै मुजफ्फरपुर जिल्लामा यस्तै घटना भएको थियो। राष्ट्रिय अपराध अभिलेख ब्यूरोका अनुसार, सन् २०२२ मा मात्रै बोक्सीको नाममा ८५ वटा हत्या रेकर्ड भएका छन्। यस्ता धेरै घटना प्रहरीसमक्ष दर्ता नै नहुने भएकाले वास्तविक सङ्ख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको छ।





