जनकपुरधाममा ससुराको हत्या गरि फरार भएका एक पुरुष सात दिन पछि पक्राउ

२०८२ असार २५, बुधबार १३:३४

सर्लाही – जनकपुरधाममा आफ्नै ससुराको छुरा प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले सात दिनपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठ रहेका छन्।

उनलाई जनकनन्दनी गाउँपालिका क्षेत्रबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले जानकारी दिए। महासेठले असार १८ गते आफ्ना ससुरा बासुदेवप्रसाद साह ‘विमल’को हत्या गरेका थिए।

६५ वर्षीय साह जनकपुरधाम–१५ कुवारामपुरका बासिन्दा तथा जनकपुरधामका मेयर मनोज साहका काका हुन्। प्रहरीका अनुसार घरायसी विवाद र पुरानो लेनदेनको विषयमा झगडा भएपछि महासेठले ससुरामाथि छुरा प्रहार गरेका थिए।

घटना लगत्तै उनी फरार भएका थिए। ‘घटनापछि फरार अभियुक्तलाई लुकिछिपी बसेको अवस्थामा समातिएको हो,’ एसपी रेग्मीले भने, ‘उनलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाईएको छ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार