सर्लाही – मधेश प्रदेशसभा बैठक आज पनि प्रमुख विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । लगातार चौथो दिनसम्म सदन अवरुद्ध हुँदा बजेटसम्बन्धी छलफल अघि बढ्न सकेको छैन ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, संघीय समाजवादी पार्टी र राप्रपा नेपालसहितका विपक्षी दलहरूले बजेटलाई असमान र बिचौलिया लाभान्वित हुने गरी बनाइएको भन्दै असहमति जनाउँदै आएका छन् ।

प्रदेशसभाको आजको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्ष जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेट वक्तव्यमा ‘असमानता र बिचौलियाको प्रवेश’ रहेको आरोप लगाउँदै, माग पूरा नभएसम्म सदन चल्न नदिने स्पष्ट पारे ।
“सत्तापक्षका सांसदहरूकै न्यून उपस्थिति बजेटप्रति उनीहरूकै असन्तुष्टिको संकेत हो । यस्तो बिचौलिया हितमा बनेको बजेटलाई हामी मान्यता दिन सक्दैनौं,” यादवले सदनमा भने ।
लगातार जारी अवरोधका कारण सभामुख रामचन्द्र मण्डलले बैठक भोलि (बिहीबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने घोषणा गरेका छन् । विपक्षीहरू बजेट पुनर्लेखनको मागमा अडिग रहँदा सत्ता पक्षको प्रतिक्रिया भने औपचारिक रूपमा आएको छैन ।





