माओवादीसँग महिन्द्र रायको पार्टी एकता हुँदै

२०८२ असार २५, बुधबार २०:१२

मलंगवा – नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र) बिच एकता प्रक्रिया तीव्र गतिमा अघि बढेको छ । दुबै पार्टीबीच माओवादी केन्द्रको आगामी महाधिवेशनकै सन्दर्भमा औपचारिक रूपमा एकता घोषणा गर्ने समझदारी बनेको नेसपाका अध्यक्ष महिन्द्र राय यादवले बताएका छन् ।

यसअघि नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ पार्टी नेतृत्वको सहमतिमै माओवादीमा प्रवेश गरिसकेका थिए । त्यसलगत्तै असार ७ गते अध्यक्ष यादवले पार्टी पुनर्गठन गरेका थिए । पुनर्गठनपछि केन्द्रीय समितिको निर्णयअनुसार अध्यक्ष यादवले केही दिनअघि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा छलफल गरेका थिए ।

छलफलमा यादवले पार्टी एकताको लागि आफू सकारात्मक रहेको स्पष्ट पार्दै पार्टीको नाम, झन्डा, ब्यानर जस्ता विषय छिट्टै टुंग्याउनुपर्नेमा जोड दिएका थिए । “हामी एकताका लागि तयार छौँ । यसअघि बाबुरामजीले पनि एकता प्रक्रियामा सहमति जनाउनुभएको थियो तर त्यो अधुरै रह्यो,” यादवले भने, “गंगानारायणजी पनि सहमतिमै माओवादीमा जानुभयो । अब हामी महाधिवेशनसँगै औपचारिक रूपमा एकता घोषणा गर्ने तयारीमा छौँ ।”

यादवका अनुसार पार्टीको नाम जे भए पनि महाधिवेशनको निर्णय सबैलाई मान्य हुने छ । प्रचण्डले पार्टीको जागरण अभियान सकेपछि केन्द्रीय समिति बैठक बस्ने र त्यही बैठकले महाधिवेशनको मिति तय गर्ने बताएका छन् । एकता प्रक्रिया अन्तर्गत पार्टीले संगठन विस्तारलाई निरन्तरता दिने भए पनि राष्ट्रिय भेला वा पृथक महाधिवेशन नगर्ने निर्णय गरिएको यादवले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार