सर्लाही – रौतहटको गौर भन्सार अगाडि प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ। सीमावर्ती भारतीय बजार बैरगनियाबाट गौरतर्फ आउँदै गरेका एक युवक स्रोत नखुलेको रकमसहित पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–२ निवासी ३९ वर्षीय चन्दन पण्डितलाई बिहीबार बिहान पक्राउ गरिएको हो। प्रहरीले गौर नाकानजिक शंका लागेपछि जाँच गर्दा पण्डितको झोलाबाट १२ लाख ७३ हजार ३ सय रुपैयाँ फेला पारेको थियो।

बरामद रकममध्ये ९ लाख २८ हजार ५ सय रुपैयाँ नेपाली नोट र २ लाख १५ हजार रुपैयाँ भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त रकमको वैध स्रोत खुलाउने कुनै पनि कागजात नदेखाएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए।
पण्डित चढेको बीआर ०३ जे ९५४३ नम्बरको भारतीय मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। उनी केही दिनयता सीमावर्ती क्षेत्रमा फस्टाइरहेको हुन्डी कारोबारमा संलग्न भएको आशंका प्रहरीको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतबाट नगद बोकेर नेपाल प्रवेश गर्ने क्रम बढेसँगै सीमामा चेकिङ कडा पारिएको छ। पछिल्लो समय यस्ता शंकास्पद कारोबारमा संलग्न व्यक्तिहरू क्रमशः पक्राउ पर्न थालेका छन्।





