सर्लाही – मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले समयमै वर्षा नहुँदा धान रोपाइँमा गम्भीर असर परेको, रोपिएका बालीमा चिरा परिरहेको अवस्थालाई दृष्टिगत गर्दै यस्तो घोषणा गरेको हो।
सुक्खाको चपेटामा परेका किसानका लागि विशेष राहत प्याकेज आवश्यक भएको ठहर गर्दै प्रदेश सरकारले सङ्घीय सरकारलाई तत्काल पहल गर्न आग्रह गरेको छ। त्यस्तै, कृषि क्षेत्रमा काम गरिरहेका दातृ निकायलाई पनि सहयोगका लागि आह्वान गरिएको छ।

यस्तै वीरगञ्जसहित विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधान गर्न सरकारले स्रोत साधन परिचालन गर्ने निर्णय पनि गरेको छ। ट्याङ्करलगायत वैकल्पिक माध्यमबाट आपूर्ति सुनिश्चित गर्न सङ्घीय खानेपानी मन्त्रालयलाई समेत सहयोगको अनुरोध गरिएको छ।





