कमला नदीमा दुई लाख माछाका भुरा छोडियो, जीविकोपार्जन र जैविक संरक्षणमा नयाँ आशा

२०८२ असार २७, शुक्रबार २१:३४
फाइल तस्बिर

सर्लाही – सिराहा जिल्लाको पश्चिम सीमास्थित कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीमा करिब दुई लाख माछाका भुरा नदीमा छाडिएको छ । परम्परागत रूपमा माछा मारेर जीवन गुजारा गर्दै आएका स्थानीयका लागि यो दीर्घकालीन आम्दानीको स्रोत बन्ने विश्वास गरिएको छ ।

रहु र नैनी प्रजातिका उन्नत जातका भुरा कर्जन्हा वडा नं. १ को कार्यालयको सहजीकरण तथा लहानस्थित मत्स्य विकास केन्द्रको समन्वयमा नदीमा छाडिएको हो । कार्यक्रममा वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेल, मत्स्य विकास केन्द्रका प्रमुख प्रियङ्का यादव, अन्य जनप्रतिनिधि र स्थानीयको उपस्थिति थियो ।

वडाध्यक्ष पोखरेलले उत्तरवाहिनी क्षेत्रलाई धार्मिक, पर्यावरणीय र आर्थिक हिसाबले महत्त्वपूर्ण क्षेत्र भन्दै माछाका भुरा छाडिनु दीर्घकालीन लाभदायक योजना भएको बताए । उनका अनुसार “रैथाने माछासँगै अब उन्नत जातका माछा पनि प्राकृतिकरूपमै हुर्किने भएकाले यो पहलले आम्दानीको नयाँ आधार बनाउनेछ ।”

मत्स्य विकास केन्द्र लहानकी प्रमुख प्रियङ्का यादवका अनुसार जैविक विविधताको संरक्षण र स्थानीय समुदायको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारी दररेटअनुसार प्रतिगोटा ७५ पैसामा १ लाख ५० हजार रुपैयाँ बराबरका भुरा कमला नदीमा छाडिएका हुन् ।

उनले आगामी वर्षमा यो कार्यक्रम थप विस्तार गरिने जानकारी दिँदै यस्ता अभियानले माछामार समुदायको आर्थिक उन्नति र नदीको पर्यावरणीय सन्तुलन दुवैमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार