मलंगवामा जसपाको पुन: प्रदर्शन, भोलिदेखि बजार बन्द र यातायात ठप्पको चेतावनी

२०८२ असार २७, शुक्रबार २१:५६

सर्लाही – पूर्व मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादवको समर्थनमा सर्लाहीको सदरमुकाम मलंगवामा पुनः प्रदर्शन भएको छ।

शुक्रबार साँझ जसपा सर्लाहीको आयोजनामा बजार क्षेत्रमै नाराबाजीसहित प्रदर्शन गरिएको हो। नेता यादवमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीले दर्ता गरेको ‘अपराधिक उपद्रव’ मुद्दालाई ‘झुठो र पूर्वाग्रही’ ठहर गर्दै जसपा सर्लाहीले कडा आपत्ति जनाएको छ।

पार्टीका जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवका अनुसार प्रहरीले लगाएको मुद्दा तत्काल फिर्ता नलिए शनिबारदेखि आइतबारसम्म दुई दिन मलंगवा बजार बन्द गरिनेछ भने सवारी आवागमनसमेत ठप्प पारिनेछ। यसअघि पनि असार २० गते शनिबार जसपाले सदरमुकाममै प्रदर्शन गर्दै सो मुद्दाको विरोध जनाएको थियो।

यता जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको जनाएको छ। प्रहरीका अनुसार असार १९ गते राति प्रमुख एसपी योगेन्द्रकुमार खड्का र यादवबीच फोन संवादका क्रममा गालीगलौज र अभद्र व्यवहार भएको भन्दै शुक्रबार दिउँसो जाहेरी दर्ता गरी पक्राउ प्रक्रिया अघि बढाइएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार