सरदर भन्दा कम वर्षा: मधेसमा खडेरी, सुदूरपश्चिममा बढी वर्षा

२०८२ असार २८, शनिबार ११:१३

सर्लाही – मनसुन सुरु भएको एक महिना नपुग्दै वर्षा असन्तुलन देखिएको छ। जल तथा मौसम विज्ञान विभागको पछिल्लो विश्लेषण अनुसार, जुलाई १० सम्म देशभर औसतभन्दा कम वर्षा भएको छ। खासगरी मधेसमा खडेरीको अवस्था देखिएको छ भने सुदूरपश्चिमका केही भाग भने अपेक्षाभन्दा बढी भिजेका छन्।

देशभर पाँच सयभन्दा बढी वर्षा मापन केन्द्रहरूमध्ये विभागले दैनिक रूपमा निगरानी गर्ने २० केन्द्रका तथ्यांक विश्लेषण गर्दा देशको समग्र वर्षा औसतभन्दा कमजोर देखिएको हो। सामान्यतया मनसुनको आगमन मिति जुन १३ मानिए पनि यस वर्ष पूर्वी नेपालबाट मे २९ मै मनसुन प्रवेश गरिसकेको थियो। यद्यपि समयअघि मनसुन सक्रिय भए पनि वर्षाको दर अपेक्षा अनुसार हुन सकेन।

मौसम विभागका अनुसार, जुलाई ११ सम्म देशभर ३९१.३ मिलिमिटर अर्थात् २६.४ प्रतिशत मात्रै वर्षा भएको छ। गत वर्ष सोही अवधिमा यो मात्रा ४६०.३ मिलिमिटर थियो। यो वर्षको औसत वर्षा १४७९.७ मिलिमिटर मानिएको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार, “मनसुन अवधिभरकै विश्लेषण अन्तिम ठहर हो, तर प्रारम्भिक तथ्यांकले साउन सुरुदेखिकै चिन्ता देखाएको छ।”

सडक चर्किने, खेत सुख्खा हुने र धान रोपाइँ ठप्प हुने अवस्था आएपछि मधेस प्रदेश सरकारले असार २६ गते मन्त्रिपरिषद् बैठकमार्फत् मधेसलाई ‘सुक्खाग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ। खेतमा धाँजा फाट्न थालेको दृश्यले समयमै पानी नपरे भोकमरीको संकट देखाउने संकेत दिएको छ। मधेस सरकारले संघीय सरकारसँग विशेष राहत प्याकेज माग गर्दै खडेरी व्यवस्थापनमा तत्परताका लागि आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार