मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवा बजार शनिबार पूर्ण रूपमा ठप्प रह्यो। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका नेता अशोक यादवविरुद्धको मुद्दा खारेजीको मागसहित आह्वान गरेको दुईदिने बन्दको पहिलो दिन बजार, उद्योगधन्दा, यातायात र विद्यालय सबै ठप्प भएपछि जनजीवन प्रभावित भएको हो।
जसपाले मधेश प्रदेश अध्यक्ष एवं पूर्व प्रदेश सांसद अशोक यादवमाथि प्रहरीले ‘झूठो मुद्दा’ दर्ता गरेको भन्दै विरोध चर्काएको हो। त्यसै क्रममा जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काविरुद्ध कारबाहीको मागसमेत गरिएको छ।

शुक्रबार साँझ मसाल जुलुससहित गरिएको प्रदर्शनपछि शनिबार बिहान कार्यकर्ताहरूले मलंगवाको सलेमपुर चोकमा टायर बाल्दै सडक अवरुद्ध गरे। यसले गर्दा मलंगवा–नवलपुर सडकखण्डमा सवारी आवागमन पूर्णतः ठप्प भएको छ। बजारका पसल, कलकारखाना र सार्वजनिक यातायातसमेत सञ्चालनमा आउन सकेनन्।
विरोधको मूल पृष्ठभूमिमा जिल्ला पूर्वाधार विकास कार्यालयमा देखिएको ‘कमिसन काण्ड’ रहेको छ। सोही कार्यालयमा राति चेक काटिएको विषयमा अध्यक्ष यादव र एसपी खड्काबीच भनाभन भएपछि अवस्था तनावपूर्ण बनेको थियो। घटनापछि यादवलाई पक्राउ गर्न गएका प्रहरीले स्थानीयको आक्रोश भोग्नुपरेको थियो।
भिडले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै प्रहरी गाडीमा तोडफोड गरेको थियो। जिल्ला अदालतले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि एक साता बितिसक्दा पनि उनी पक्राउ परेका छैनन्। जसपाले मुद्दा तत्काल खारेज नगरे सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ।





