एमाले बैठकमा मन्त्रीको कामप्रति असन्तोष, मन्त्री जयसवाल फिर्ता बोलाइँदै

२०८२ असार २८, शनिबार २१:१५

सर्लाही – मधेश प्रदेशको बर्दिबासमा शनिबार बसेको नेकपा एमाले प्रदेश कमिटी बैठकले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूप्रति तीव्र असन्तोष प्रकट गरेको छ। बैठकमा नेताहरुले मन्त्रीहरू जनअपेक्षाअनुसार काम नगरेको भन्दै आलोचना गरेपछि केही मन्त्रीको भविष्य अन्योलमा परेको छ।

मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षको बजेट असमावेशी रहेको भन्दै नेताहरूमा असन्तुष्टि देखिएको हो। “आफ्नै मन्त्रीहरूबाट कार्यकर्ता असन्तुष्ट छन् भन्ने आवाज बैठकमा उठेको हो,” श्रेष्ठले बताए।

धनुषाका इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य जुली महतोले पनि बैठकमा मन्त्रीहरूबारे आलोचना भएको पुष्टि गर्दै भनिन्, “कुराहरू उठेका छन्। तर अहिले कसैलाई फिर्ता बोलाउने वा हटाउने निर्णय भएको छैन। विषयमा केन्द्रीय नेतृत्वसँग छलफल आवश्यक छ।”

तर, बैठकमा फरक मत पनि देखिएको छ। प्रदेश कमिटीका उपाध्यक्ष विचारी यादवका अनुसार खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय भइसकेको छ। “मैले नै प्रस्ताव पेस गरेको हुँ, र बैठकले सहमति जनाएको छ,” यादवले भने।

बैठकमा प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, इन्चार्ज श्रेष्ठ, सांसद ज्वाला साह, जुली महतो, प्रभु हजरा लगायत आठवटै जिल्लाका इन्चार्ज तथा कमिटी सदस्यहरू सहभागी थिए।

हाल मधेश प्रदेश सरकारमा एमालेका चार मन्त्री छन् भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, गृहमन्त्री राजकुमार लेखी, स्वास्थ्य मन्त्री सत्रुधनप्रसाद सिंह र समाज कल्याणमन्त्री प्रमोद जयसवाल। यीमध्ये जयसवालको भूमिकामाथि गम्भीर प्रश्न उठ्दै आएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार