मलंगवा – जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना नेताविरुद्ध दायर मुद्दा झुठो भएको दाबी गर्दै सर्लाही सदरमुकाम मलंगवामा आज ( आईतबार ) पनि बन्द जारी राखेको छ। मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भएपछि पार्टी आन्दोलित बनेको हो।
शनिबारदेखि सुरु भएको आन्दोलनको दोस्रो दिन आईतबार बिहानैदेखि नेता यादवको गाउँ कविलासीस्थित सलेमपुर चोक र मलंगवा बजारमा सयौं कार्यकर्ता नाराबाजीसहित सडकमा उत्रिए। जसपाको आह्वानमा पसल, बजार, र सवारी आवागमनमा पूर्ण अवरोध देखिएको छ। नवलपुर–मलंगवा सडकखण्डमा केही चारपांग्रे सवारी वैकल्पिक मार्ग हुँदै चलेका छन् भने मोटरसाइकलहरूको आवागमन भने प्रभावित भएको छैन।

आन्दोलनको जड भने असार १९ गते रातिको एक घटनामा छ, जहाँ पूर्वाधार विकास कार्यालय मलंगवामा कथित अनियमितता र त्यसमा प्रहरी संलग्नताको आरोप लागेपछि यादवले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कासँगको टेलिफोन संवादमा आपत्तिजनक शब्द प्रयोग गरेको बताइएको छ। सोही आधारमा जिल्ला अदालतले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
त्यसयता उनी फरार छन्। प्रहरीले भारतीय पक्षसँग समन्वय गर्दै खोजी तीव्र बनाइरहे पनि यादव अझै पक्राउ परेका छैनन्। उता जसपा नेताहरू भने एसपी खड्काले पनि आपत्तिजनक शब्द प्रयोग गरेको आरोप लगाउँदै दुवै पक्षमाथि निष्पक्ष अनुसन्धानको माग गर्दै आन्दोलन चर्काइरहेका छन्।
यसैबीच, स्रोतका अनुसार अध्यक्ष यादव आफैँ अदालतमा उपस्थित हुने तयारीमा छन्। पार्टी कार्यकर्ताहरू नाराबाजीसहित उनलाई अदालत पुर्याउने तयारीमा जुटेका छन्।





