मलंगवा – चर्को गर्मीकाबीच पटक–पटक भइरहने विद्युत कटौतीविरुद्ध मलंगवाका युवाहरूले आइतबार दिउँसो नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र घेराउ गरेका छन्।
प्रदर्शनकारीहरूले वितरण केन्द्र अगाडि टायर बालेर र नाराबाजी गर्दै बत्ती नियमित गर्न माग गरेका थिए। उनीहरूले वितरण केन्द्र प्रमुख इन्जिनियर उमेशप्रसाद यादवसँग भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह पनि गरेका छन्।

युवाका अगुवा चन्दनकुमार सिंहले गर्मीको मौसममा घण्टौँसम्म बत्ती नआउँदा सर्वसाधारण अत्यधिक सास्तीमा परेको बताए। “पंखा नचलेको एकछिन पनि बस्न नसक्ने अवस्था छ, तर प्राधिकरणले बेलाबेला बत्ती काटिरहन्छ,” उनले भने।
वितरण केन्द्रका प्रमुख इन्जिनियर यादवले अत्यधिक गर्मी र बढ्दो लोडका कारण समय समयमा विद्युत अवरुद्ध हुनसक्ने बताए। “प्रवाहित भार असहज भएपछि लाइन व्यवस्थापन गर्न केहीबेरका लागि काट्नुपर्ने हुन्छ,” उनले भने।
स्थानीयवासीहरूले नियमितरूपमा हुने बत्ती कटौतीका कारण जनजीवन प्रभावित भएको र प्राधिकरणले प्रभावकारी विकल्प नदिएको गुनासो गरेका छन्।





