मधेसमा वर्षा अभावले खेती संकटमा, रोपाइँ दर आधा भन्दा कम

२०८२ असार २९, आईतवार १९:५३
फाईल तस्बिर

सर्लाही – असारको अन्त्यतिर मधेसमा वर्षा र पानी अभावले खेती संकटमा परेका कारण रोपाइँमा ठूलो गिरावट आएको छ। कृषि विकास निर्देशनालय मधेसका अनुसार यस वर्ष असार महिनाको आजसम्ममा प्रदेशका आठै जिल्लामा जम्मा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ, जुन गत वर्षको करिब ६१ प्रतिशतको तुलनामा आधाभन्दा कम हो।

पानी अभावका कारण मधेसका अधिकांश जिल्लामा खेती प्रभावित छन्। पर्सामा ७३.३४ प्रतिशत रोपाइँ भए पनि अन्य जिल्लाहरुमा रोपाइँको दर निकै कम छ। सिरहामा २९%, धनुषामा २५%, बारामा ४०%, रौतहटमा ४५%, सर्लाहीमा ४०%, सप्तरीमा १६%, र महोत्तरीमा १८ प्रतिशत मात्र धान रोपाइँ भएको छ। मधेसमा कुल खेतीयोग्य जमिन ५ लाख ४२ हजार ५४० हेक्टरमध्ये धान रोपाइँ हुने जमिन ३ लाख ७२ हजार ६४५ हेक्टर रहेको छ, तर अहिलेसम्म १ लाख २५ हजार ८८८ हेक्टरमात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ।

किसानहरू पनि पानी अभाव र मलको कमीका कारण चिन्तित छन्। बहुदरमाई नगरपालिकाका रामनरेश यादव भन्छन्, “असारमै रोपाइँ भयो भने राम्रो उत्पादन हुन्छ, तर अहिले रोपाइँ हुन नसक्दा समस्या छ। साउनमा रोपाइँ गरे उत्पादन कम हुन्छ।” अर्का किसान असमोदिन देवानले मलको अभावले खेती जोखिममा परेको बताए।

मधेसमा पानी संकट बढ्दै गएपछि प्रदेश सरकारले असार २६ गते मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। कृषि विकास निर्देशनालयले आठै जिल्लामा दुई प्राविधिक टोली परिचालन गरेर स्थिति अध्ययन गरिरहेको छ। निर्देशनालय प्रमुख जितेन्द्र यादवले बताए, “मधेसले पहिले करिब १३ लाख मेट्रिक टन धान उत्पादन गर्थ्यो तर अहिले उत्पादनमा कमी आएपछि खाद्य सुरक्षा संकट आउन सक्ने सम्भावना छ।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार