मलंगवा – सर्लाहीमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको कविलासी नगरपालिका–५, घरदौली टोलमा शनिबार साँझ देव नारायण पासवानका दुई वर्षीय छोरा सुरज पासवानको घर नजिकै खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो।
घर नजिकै खेली रहेका ति बालक आइतबार साँझ करिब ७ बजेतिर हराएका थिए। उनलाई परिवार र छिमेकीहरूले खोजी गरिरहेका थिए। करिब दुई घण्टापछि, राति ९:१० बजे, सुरज बिन्देश्वर रायको घरपछाडि रहेको पोखरीमा मृत अवस्थामा फेला परेको बताईएको छ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो। अहिले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





