सर्लाही – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा मिर्गौला रोगसम्बन्धी उपचारका लागि विशेष सुविधा सहितको केन्द्र स्थापना गरिने घोषणा गरेका छन्।
आइतबार नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण गर्ने म्यामोग्राम सेवा र निःसन्तान दम्पतीका लागि ‘आइयुआई युनिट’को सुरुवात कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मधेसमा मिर्गौला पीडितको संख्या धेरै भएको र त्यस्तो स्थितिमा विशेष उपचार केन्द्र आवश्यक रहेको बताए।

“आगामी आर्थिक वर्षको बजेटमा यस किसिमको केन्द्र निर्माणका लागि व्यवस्था गरिसकिएको छ,” मन्त्री पौडेलले बताए, “हाल अस्पताल कुन जिल्लामा स्थापना गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। रौतहट, सप्तरी वा अन्य कुनै जिल्ला उपयुक्त हुन सक्छ।”
उनका अनुसार हाल देशभर १३ हजारभन्दा बढी मिर्गौला पीडितहरू नियमित डायलाइसिस गराइरहेका छन्, जसमा करिब चार हजारभन्दा बढी मधेस प्रदेशकै बासिन्दा छन्। वैदेशिक रोजगारीबाट फर्किएका आठ हजारभन्दा बढी नेपालीमा पनि मिर्गौला समस्या देखिएको मन्त्री पौडेलको भनाइ छ।
नारायणी अस्पतालको सन्दर्भमा मन्त्री पौडेलले ‘क्याथल्याब’ स्थापना छिट्टै गरिने जानकारी गराए। उनले अस्पताल व्यवस्थापनमा केवल एक जना मन्त्री वा सुपरिटेन्डेन्टको प्रयासले मात्र पुग्ने नभई, सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पछिल्ला दिनमा अस्पतालले विविध सेवा विस्तार गर्दै आएको बताए। “आजदेखि निःसन्तान दम्पतीहरूका लागि नि:शुल्क आइयुआई सेवा सुरु गरिएको छ,” उनले भने, “यसले धेरैलाई लाभ मिल्ने अपेक्षा गरेका छौँ।”





