सर्लाही – सुनसरीको हरिनगर गाउँपालिकामा आइतबार राति एक किशोरीको गोली हानी हत्या गरिएको छ। हरिनगर–६, घुस्कीस्थित आफ्नै घरमा सुतेकी १८ वर्षीया अर्सी खातुनलाई मध्यरातमा गोली प्रहार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार खातुनको हत्या उनका भिनाजु आजात मिया जटले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतको पत्राहा पञ्चायत–१६, घुर्नाका २९ वर्षीय मियाले राति करिब १ बजे खातुनको टाउकोमा गोली प्रहार गरेका थिए।

गम्भीर चोटका कारण अर्सीको घटनास्थलमै ज्यान गएको थियो। प्रहरीले गोलीको एउटा खोका फेला पारेको छ भने घटनापछि मिया भारततर्फ भागेको अनुमान गरिएको छ। नेपाल–भारत सीमा नजिकै भएकाले अभियुक्त भाग्न सफल भएको हुनसक्ने प्रहरीको भनाइ छ।
एसपी तिम्सिनाले घटनापछि भारतीय सुरक्षासँग समन्वय गरी मियाको खोजी प्रक्रिया अघि बढाइएको बताए। हत्या किन गरियो भन्ने विषयमा भने अझै अन्योल रहेको प्रहरीको भनाइ छ। ‘हत्या किन भयो भन्नेबारे अहिले पनि अनुसन्धान चलिरहेको छ,’ एसपी तिम्सिनाले भने।





