बंगलादेशमा हिन्दू व्यापारीको निर्मम हत्या

२०८२ असार ३०, सोमबार ०९:०७

बंगलादेश – बंगलादेशको राजधानी ढाकामा भीडले एक हिन्दू व्यापारीलाई कुटपिट गरी हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्दै विभिन्न क्षेत्रमा विरोध प्रदर्शन सुरु भएको छ।

जुलाई ९ मा ढाकास्थित मिटफोर्ड अस्पतालको छेउमा व्यापारी लाल चन्द सोहाग (३९) माथि आक्रमण भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार उनीमाथि इँटा र ढुङ्गाले आक्रमण गरिएको थियो। त्यसपछि उनलाई जमिनमा लडाएर भीडले टाउको र शरीर कुल्चिएको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

घटनास्थलमा व्यापारीको लुगा समेत फुकालिएको थियो भने केही व्यक्तिहरू उनको शरीरमाथि उफ्रँदै नाचिरहेको देखिएको थियो। प्रारम्भिक विवरण अनुसार सोहागको हत्या व्यापारिक विवाद र जबरजस्ती असुलीसम्बन्धी विषयबाट उत्पन्न भएको हुन सक्ने बताइएको छ, तर घटनाको ठोस कारण खुल्न बाँकी छ।

घटनापछि कानुनी व्यवसायी युनुस अली अकंदले उच्च अदालतमा रिट दायर गरी उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्। यस घटनामा १९ जनालाई नामसहित अभियुक्त बनाइएको छ भने थप १५ देखि २० जना अज्ञात व्यक्ति संलग्न भएको आशंका गरिएको छ। प्रहरीले हालसम्म पाँच जना संदिग्धलाई नियन्त्रणमा लिएको छ।

लाल चन्दकी दिदी ४२ बर्षिया मञ्जुआरा बेगमले बिहीबार प्रहरीमा उजुरी दर्ता गराएकी छिन्। पक्राउ परेकाहरूमा महमुदुल हसन मोहिन, तारेक रहमान रबिन, आलमगीर, मोनिरलगायत अन्य छन्।

घटनाले देशभर उत्तेजना फैलाएको छ। विभिन्न विश्वविद्यालय र जिल्लामा रातभर प्रदर्शन भए, जहाँ प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। केही प्रदर्शनमा विपक्षी दल बीएनपीलाई समेत आरोप लगाइएको छ कि उनीहरूले आफ्ना कार्यकर्तामाथि नियन्त्रण गर्न असफल भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार