विपक्षीको बहिष्कारका बिच मधेश प्रदेशको बजेट पारित

२०८२ असार ३०, सोमबार २०:४१

सर्लाही – मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत बजेट प्रदेश सभाबाट पारित भएको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा प्रमुख विपक्षी दलहरूको बिरोधका बीच बजेट पारित गरिएको हो।

लगातार ६ दिनदेखि प्रदेश सभा अवरुद्ध पारिरहेका विपक्षी सांसदहरूले बैठक बहिष्कार गरेपछि सभामुख रामचन्द्र मण्डलले सहमति कायम गर्न गरेको प्रयास सफल हुन सकेन। अन्ततः बजेट फास्ट ट्र्याक प्रक्रियाबाट पारित गरिएको हो।

जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीजस्ता प्रमुख विपक्षी दलहरूले बजेटमा देखिएको अनियमितता र सूचना प्रणालीमा फरक विवरण भएको भन्दै बैठकमा भाग लिएनन्। विपक्षी सांसदहरूले सरकारले संसद्मा प्रस्तुत गरेको बजेटको रेडबुक र सूचना प्रणालीमा रहेको विवरणमा विसंगति रहेको आरोप लगाएका छन्।

उनीहरूको दाबी अनुसार सांसदलाई वितरण गरिएको रेडबुक ४६१ पृष्ठको मात्र थियो, तर सूचना प्रणालीमा भने सोही रेडबुकको ७५५ पृष्ठ भएको संस्करण देखिएको छ। यही रेडबुकका आधारमा अर्थमन्त्री सुनिल कुमार यादवले ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट सभा समक्ष प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार