सर्लाही – बर्खायाम सुरु भएसँगै विषालु च्याउ खाँदा बिरामी पर्ने र मृत्यु हुने घटनाहरू बहिरि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा प्रत्येक वर्ष च्याउको विषका कारण ३० देखि ४० जनासम्मको मृत्यु हुने गरेको छ ।
मन्त्रालयले वर्षायाममा जंगल, खेतबारी वा खुला स्थानमा आफैँ उम्रिने च्याउ नखान अनुरोध गरेको छ । नेपालमा हालसम्म १,३०० प्रजातिका च्याउ पाइएका छन्, तीमध्ये करिब १०० जातका च्याउ विषालु छन् । यस्ता च्याउ छुनासमेत नहुने मन्त्रालयले जनाएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार खुला ठाउँमा पाइने ६२ प्रकारका च्याउ अत्यन्तै विषालु हुन्छन् । यस्ता च्याउ पकाउँदा पनि विष हट्दैन । यसकारण यिनको सेवनले ज्यानै जाने खतरा हुन्छ ।
विषालु च्याउमा छाता खस्रो, गन्ध नमिठो, धेरै झुस भएको, छुँदा वा थिच्दा रङ परिवर्तन हुने र भाँच्दा सेतो पदार्थ (चोप) निस्किने जस्ता लक्षण देखिन्छन् । यस्ता च्याउहरू देख्दा आकर्षक लागे पनि विषालु हुन सक्छन् ।
ध्वाँसे च्याउ, पहेँलो, रातो कत्ले, सल्ले, सेतो कत्ले, खैरो ध्वाँसे कत्ले, डल्ले सेतो कत्ले, मुसा खैरो सेतो कत्ले, खैरो धर्से भूत च्याउ, चितुवा बुट्टे, सेतो कत्ले औँठी, कागते, सेतो कत्ले बेरिएको, कालो कत्लेलगायतका च्याउहरूलाई विषालु च्याउको सूचीमा राखिएको छ ।
वर्षा सुरु भएपछि जङ्गल तथा खुला स्थानमा यस्ता च्याउ उम्रिन थाल्छन् । अनियन्त्रित रूपमा उम्रने र पहिचान गर्न कठिन हुने यस्ता च्याउ खाँदा गम्भीर बिरामी पर्नुका साथै ज्यानसमेत जाने जोखिम रहने मन्त्रालयले जनाएको छ ।





