दाइजो नलिने वाचा गरेका प्रेमीले विवाहपछि मागे ६० लाख, सुन, कार र जग्गा

२०८२ असार ३२, बुधबार १४:०७

सर्लाही – सर्लाही – सिरहाको अर्नमा गाउँपालिका–२, ब्रम्हपुरीका २४ वर्षीय मुकेश प्रधान सुडीले प्रेम विवाहपछि आफ्नी पत्नी मनीषा कुमारी गामीलाई दाइजोको माग राखेर यातना दिएको घटना बाहिर आएको छ।

२३ वर्षीया मनीषाले आफ्नो प्रेमीले विवाहअघि ‘दाइजो नलिने’ वाचा गरेको बताएकी छन्। तर, विवाहलगत्तै मुकेश र उनको परिवारले ६० लाख नगद, २० तोला सुन, कार र बन्दिपुरमा राजमार्ग नजिकैको जग्गा माग्न थाले। यो माग पूरा नभएपछि मनीषामाथि यातना भएको उनको गुनासो छ।

मनीषाले भनिन्, “विवाहका बेला मेरो बुबाले १० लाख नगद र ७ लाख बराबरको सामान दिनुभएको थियो। तर, उनीहरूले त्यसलाई अपुग भन्दै मलाई सताइरहेका छन्।” असह्य भएपछि मनीषाले प्रहरीमा उजुरी दर्ता गरिन्।

उनले २०८२ जेठ ७ मा श्रीमान् मुकेश, ससुरा गौरीशंकर प्रधान सुडी र सासू ललिता कुमारी प्रधान सुडीविरुद्ध दाइजोविरुद्धको कसुरमा मुद्दा दायर गरिन्। मुलुकी अपराध संहिता २०७४ को दफा १७४ ले दाइजो माग्न निषेध गरेको छ। प्रहरीले अनुसन्धानका क्रममा ४८ वर्षीया ललिता कुमारीलाई पक्राउ गर्‍यो, जो हाल १ लाख धरौटीमा रिहा भएकी छन्।

मुकेश र उनका बुवा गौरीशंकरविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ, तर उनीहरू अझै फरार छन्। मनीषाको माइती कर्जन्हा नगरपालिका–२, बन्दिपुरमा छ। मुकेश ललितपुरमा सिभिल इन्जिनियरिङको सातौँ सेमेस्टरमा अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार