सर्लाही – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान र आफन्तसँग रमाइलो गर्दै हर्षोल्लासका साथ मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने यो दिनलाई प्राचीन परम्पराअनुसार विशेष रूपमा मनाउने गरिन्छ।
आजदेखि सूर्य दक्षिणतर्फ हिँड्ने भएकाले दक्षिणायनको सुरुवात हुन्छ। माघ १ मा उत्तरायण र साउन १ मा दक्षिणायनलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार असार महिनाभर कृषि कर्ममा व्यस्त नेपालीहरूले हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट जोगिन लुतो फाल्ने परम्परा छ।

यो दिन किसानहरू आफन्तसँग भेटघाट गरी रमाइलो गर्छन्। परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधीय वनस्पतिहरू राखेर ‘कण्डारक’ नामक राक्षसको पूजा गरी लुतो फालिन्छ।
लुतो फाल्ने क्रममा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने चलन नेपाली समाजमा प्रचलित छ। साउन महिनालाई भगवान् शिवको विशेष पूजा गर्ने महिनाका रूपमा पनि लिइन्छ। यो महिना विशेष गरी, प्रकृतिसँग जोडिएको प्रतीकका रूपमा हरियो चुरा, कपडा र रातो पहिरन लगाउने गर्छन्।





