मलंगवा – सर्लाहीको नवलपुरस्थित एक खाद्य उद्योगमा ट्रकबाट त्रिपाल हटाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको न्यु माँ राजदेवी खाद्य उद्योगमा बिहीबार बिहान करेन्ट लाग्दा रौतहट बृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो। उनी ट्रकका सहचालक रहेको खुलेको छ।

प्रहरीका अनुसार धानको भुस लिन आएका ना. ६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा ट्रकको माथिल्लो भाग ११ हजार भोल्ट क्षमताको विद्युत् लाइनसँग छोइएपछि घटना भएको हो। करेन्ट लागेपछि गम्भीर घाइते भएका पासवानको हरिवनस्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सोही घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान घाइते भएका छन्। दुवैजनाको हातखुट्टामा चोट लागेको अस्पताल स्रोतले जनाएको छ। उनीहरूको अवस्था अहिले सामान्य रहेको बताइएको छ।
ट्रकका चालक वीरगञ्ज महानगरपालिका–३० निवासी ३९ वर्षीय शेख लाल महमदसमेत उपचारमा संलग्न छन्। ट्रक हाल इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





