पानीको संकटसँग जुध्दै मधेश प्रदेश

२०८२ श्रावण १, बिहीबार १९:३८
सर्लाहीको धनकौल गाउँपालिकास्थित खेतमा पानि नपर्दा धान रोपेको खेतमा चिरा परेको। तस्बिर : खुशी रौनियार, सर्लाही।

सर्लाही – समयमा प्रयाप्त वर्षा नहुँदा मधेश प्रदेशमा खडेरीको अवस्था चर्किएको छ। पानीको चरम अभावले खेतीपातीदेखि खानेपानी आपूर्तिमा प्रत्यक्ष असर पारेको छ। प्रदेश सरकारले हालै प्रदेशलाई ‘सुक्खाग्रस्त’ घोषणा गर्दै खडेरीको प्रभाव न्यूनिकरणका लागि विभिन्न उपायको तयारी थालेको छ।

पछिल्लो समय भूमिगत जलस्रोत सुक्दै जाँदा बारा, पर्सालगायतका जिल्लामा चापाकल सुकेका छन् भने अधिकांश स्थानमा धारोमा पानी आउन छाडेको स्थानीयको गुनासो छ। केही स्थानमा स्थानीय तह र प्रदेश सरकारको समन्वयमा दमकल तथा ट्यांकर प्रयोग गरेर पानी आपूर्ति गर्ने प्रयास थालिएको छ।

मुख्यमन्त्री सतीशकुमार सिंहले सुक्खाबाट सिर्जित समस्याबारे छलफल गर्न संघीय खानेपानी मन्त्रीसहित सरोकारवाला निकायहरूसँग वार्ता गरेका छन्। उनले चुरे क्षेत्रमा भएको अनियन्त्रित गिट्टी–बालुवा उत्खनन र जंगल विनाशका कारण जलस्रोत प्रभावित भएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि दातृ निकायसँग सहकार्यको आवश्यकता औंल्याएका छन्।

‘सुक्खाका कारण रोपाइँ प्रभावित बनेको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘यसले आगामी दिनमा खाद्यान्न संकट निम्त्याउने खतरा बढेको छ।’ कृषि विकास निर्देशनालय, मधेशका अनुसार हालसम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। कुल ३ लाख ७२ हजार ६४५ हेक्टर धान क्षेत्रफलमध्ये हालसम्म १ लाख २५ हजार ८८८ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।

सर्लाही जिल्लामात्रै ४० हजार हेक्टरमा धान खेती हुने गर्छ। तर, कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव महतोका अनुसार अहिलेसम्म ४० प्रतिशत क्षेत्रमै मात्र रोपाइँ भएको छ। गत वर्ष यति बेलासम्म ८० प्रतिशतभन्दा धेरै रोपाइँ भइसकेको थियो। उनका अनुसार असारको पहिलो साता सुरु हुने रोपाइँ सिंचित क्षेत्र बाहेक अन्यत्र प्रभावित भएको छ।

बढ्दो खडेरी, पानीको अभाव, र भूजल सुक्दै गएकाले समस्या अझ जटिल बन्दै गएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ। जिल्ला प्रशासन कार्यालय बाराले समेत पानी आपूर्तिसम्बन्धी समस्या समाधान गर्न पालिकास्तरीय संयोजनमा छलफल थालेको छ।

प्रदेश सरकारका अनुसार हाल प्रदेशका सबै १ सय ३६ वटै स्थानीय तहमा कुनै न कुनै रूपमा पानी अभाव देखिएको छ। जलस्रोतको दीर्घकालीन संरक्षण नगरी समस्याको स्थायी समाधान सम्भव नभएको विज्ञहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार