चट्याङको प्रकोप: बिहारमा दुई दिनमै ३३ को मृत्यु, कैयौं घाइते

२०८२ श्रावण २, शुक्रबार १७:२३
सांकेतिक तस्बिर

पटना – पूर्वी भारतमा सक्रिय मनसुनले ल्याएको आँधी–हावाहुरीसँगै परेको चट्याङले ३३ जनाको ज्यान लिएको छ भने कैयौं घाइते भएका छन्। बुधबार र बिहीबारका दिन बिहार राज्यमा विशेष गरी यो प्रकोप देखिएको हो।

भारतको विपद् व्यवस्थापन विभागले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, मृत्यु हुनेहरू प्रायः किसान र मजदुर वर्गका थिए, जो चट्याङ पर्दा खुला स्थानमा काम गरिरहेका थिए। विभागले अझै पनि पटनाको केही क्षेत्रहरूमा भारी वर्षा र चट्याङको सम्भावना रहेको पूर्वानुमानसमेत गरेको छ।

विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलले सम्बन्धित जिल्ला प्रशासनहरूलाई सतर्क रहन र चट्याङको सम्भावित जोखिमबारे अग्रिम सूचनामार्फत जनतालाई सचेत गराउन निर्देशन दिएका छन्। पटना सरकारले मृतकका परिवारलाई ४० लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्ने घोषणा गरिसकेको छ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२३ मा बिहारमा मात्रै २७५ जनाले चट्याङका कारण ज्यान गुमाएका थिए भने सन् २०२४ को अहिलेसम्मकै अवधिमा २४३ जनाको मृत्यु भइसकेको छ। बिहारसहित भारतको पूर्वी भूभाग मनसुनको समयमा बारम्बार बाढी र चट्याङको चपेटामा पर्ने गरेको छ। बर्सेनि सयौंको ज्यान जाने र लाखौं मानिस विस्थापित हुने स्थिति दोहोरिँदै आएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार