सर्लाही – मधेस प्रदेशका आठ जिल्लामा लामो समयदेखि पानी नपरेपछि धान रोपाइँ ठप्प भएको छ। सुख्खाको असर चुलिएसँगै प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समस्याको मूल्याङ्कन गर्न प्रत्येक जिल्लामा प्राविधिक टोली पठाउने निर्णय गरेको छ।
शुक्रबार कृषि मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा मन्त्रालयस्तरीय बैठक बसेको थियो। बैठकले हालको संकटको मूल्याङ्कन गरी तत्कालीन तथा दीर्घकालीन समाधानका उपाय पहिचान गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो।

मन्त्री अधिकारीको निर्देशनअनुसार आइतबारदेखि आठै जिल्लामा केन्द्रबाट २/२ जना प्राविधिकसहितको टोली खटाइनेछ। टोलीले स्थानीय तहमा क्रियाशील कृषि कार्यालयहरू र मन्त्रालय अन्तर्गतका आयोजनासँग समन्वय गर्दै अध्ययन गर्नेछ।
प्रदेश सरकारले केही दिनअघि लामो समयदेखिको सुख्खीका कारण प्रभावित क्षेत्रहरूलाई ‘सुख्खाग्रस्त’ घोषणा गरिसकेको छ। खानेपानीको अभावसँगै खेतबारीमा धान रोप्न सक्ने अवस्था नरहेको भन्दै सरकार चिन्तित बनेको छ।
“अबको केही दिनभित्र वर्षा नभएमा सबै तीन तहका सरकारले विकल्प खोज्नुपर्छ,” मन्त्री अधिकारीले भने, “मन्त्रालय मातहतका सबै निकायलाई सक्रिय बनाउँदै हाल रहेका सिँचाइ संरचनाहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ।
आवश्यक परेमा वैकल्पिक उपायहरू तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ।” मधेस प्रदेश कृषि मन्त्रालयका अनुसार हालसम्म आठ जिल्लामा करिब ४६ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।





