सर्लाही – मधेस प्रदेश सरकारले ‘अप्रेसन अस्पताल’ अभियान चलाउँदै अवैध र मापदण्डविपरीत सञ्चालित निजी अस्पतालहरू बन्द गरेको केही महिनामै ती अस्पतालहरू पुनः खुलेका छन्। बताईए अनुसार यस्ता अस्पतालहरू ‘सेटिङ’मार्फत फेरि सञ्चालनमा आएका हुन्।
सर्लाहीको मिथिला डेन्टल क्लिनिकदेखि मलंगवाको देवश्री पोलिक्लिनिक, वीरगञ्जको नेपाल इन्डो हस्पिटल जस्ता संस्थाहरू बन्द भएको केही समयमै सेवा दिन थालेका छन्। सञ्चालकहरूका अनुसार कागजात पूरा गरेपछि अस्पताल खोल्ने अनुमति प्राप्त भएको हो। तर कतिपयले प्रक्रिया स्पष्ट खुलाउन मिडियासँग असहयोग जनाएका छन्।

स्वास्थ्य मन्त्रालयकै निरीक्षक सन्तोष ठाकुरका अनुसार धेरै अस्पताल स्थानीय तहको अनुमतिमा खुलेका छन् भने केहीमा प्रदेश सरकारकै मिलोमतो रहेको छ। एक सञ्चालकको दाबी अनुसार प्रदेशकै बिचौलियामार्फत कम्तीमा पाँच लाख रुपैयाँ बुझाएर अस्पताल खोल्ने अनुमति लिने गरिएको छ।
गत कात्तिकदेखि वैशाखसम्म सञ्चालन गरिएको अभियानमा प्रदेशका आठै जिल्लामा १३० भन्दा बढी अस्पतालहरू मापदण्डविपरीत भेटिएका थिए। सिरहा, सर्लाही, रौतहट, धनुषालगायत जिल्लामा व्यापक रूपमा निजी अस्पतालहरू बन्द गरिएका थिए। मुख्यमन्त्री सतीश सिंहको अगुवाइमा सञ्चालन गरिएको यो अभियानले सुरुवातमा प्रशंसा कमाएको थियो।
तर अहिले अधिकांश अस्पताल पुनः पुरानै शैलीमा सञ्चालनमा आउँदा सरकारको प्रतिबद्धता र अभियानको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ। स्वास्थ्य मन्त्री शत्रुघ्न महतो कोइरीले केही अस्पतालले प्रक्रिया पूरा गरेपछि मात्र अनुमति दिएको दाबी गरे पनि हालसम्म प्रदेशभरि यस्ता अस्पताल संख्या आठवटा मात्र भएको उनी स्वीकार्छन्।





