
सर्लाही – नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा बहुआयामिक व्यक्तित्व विपी कोइरालाको ४३औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। लोकतन्त्रका लागि जीवनभर संघर्ष गरेका कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेससहित विभिन्न संघसंस्थाले स्मरण कार्यक्रम आयोजना गरेका छन्।
विसं २०३९ साउन ६ गते दिवङ्गत भएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ मा भएको थियो। विसं २०१५ को ऐतिहासिक संसदीय निर्वाचनपछि उनी विसं २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। राजनीति मात्र होइन, साहित्यमा पनि समान रूपमा जम्न सफल कोइराला नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवाद प्रवाहका प्रवर्तकका रूपमा चिनिन्छन्।

उनका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘मोदी आइन’, ‘नरेन्द्रदाई’, ‘हिटलर र यहुदी’ र ‘बाबु, आमा र छोरा’जस्ता उपन्याससहित डेढ दर्जन कृति प्रकाशित छन्। ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ जस्ता कथा सङ्ग्रह, ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’ जस्ता दस्तावेजले राजनीतिक जीवनका अन्तरकथा भर्न सक्छन्।
राजनीतिक उथलपुथलका कारण उनले लामो समय जेल र निर्वासनमा बिताए। विसं २०१७ पुस १ मा शाही सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि उनी सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा थुनिए। स्वास्थ्य परीक्षणका क्रममा छुटेपछि कोइराला भारतमा निर्वासित जीवन बिताउँदै रहे।
विसं २०३३ मा राष्ट्रिय एकता र मेलमिलापको सन्देश लिएर आठवटा ज्यान मुद्दाको सामना गर्न तयार भएर उनी स्वदेश फर्किएका थिए। उनको जीवन र विचार आज पनि नेपाली राजनीतिमा सन्दर्भ बन्ने गरेको छ। आजको दिन नेपाली कांग्रेससहित कोइरालाको विचारमा आस्था राख्ने व्यक्तिहरूले देशभर कार्यक्रम गरी उनको योगदानको स्मरण गरिरहेका छन्।