सर्लाही – रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोलानजिक प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको रातो रंगको ब्रेजा कारबाट गाँजा फेला परेको हो।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार कारमा गाँजा लुकाइ राखिएको सूचना प्राप्त भएपछि चेकजाँच कडा बनाइएको थियो। चेकप्वाइन्टमा रोकिन संकेत गर्दा पनि चालकले गाडी नरोकी तीव्र गतिमा अघि बढाएपछि प्रहरी टोलीले पछ्याएको थियो।

उक्त कार झाझ खोलानजिकै करिब २० फिट गहिरो खेतमा फेला परेको हो। चालक भने गाडी त्यहीँ छाडेर भाग्न सफल भएका छन्। अहिले प्रहरीले क्रेनमार्फत गाडी निकालेर अनुसन्धान थालेको छ।
गाडीको भित्री भाग र ढोकामा गाँजा भरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। यद्यपि बरामद भएको गाँजाको ठ्याक्कै परिमाण भने हालसम्म सार्वजनिक गरिएको छैन। इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार गाँजाको तौल लिने प्रक्रिया जारी छ।





