मधेसमा देखिएको खानेपानी समस्याकाे दीर्घकालीन समाधान के हुन् सक्छ ?

२०८२ श्रावण ७, बुधबार ०५:४२

सर्लाही – मधेस प्रदेशका बासिन्दाहरू प्रत्येक वर्ष गर्मीयाममा पिउन योग्य पानीको चरम अभावसँग जुधिरहेका छन्। चापाकल सुकेर जाने, पम्पहरूले पानी नउठाउने र दैनिक जीवन नै असहज बनाउने यो संकट कुनै असामान्य वा आकस्मिक अवस्था रहेन। बरु यो अब संरचनागत कमजोरी, दीर्घकालीन रणनीतिक अभाव र जल स्रोतहरूको अव्यवस्थित उपयोगको परिणाम हो।

मधेसको पिउने पानी संकट केवल उपल्लो भूगोलबाट बग्ने नदीको सतह वा चापाकलको गहिराइ मात्र होइन यो सम्पूर्ण पारिस्थितिक तन्त्रसँग गाँसिएको समस्या हो। भूमिगत जलस्तरको गिरावट, चुरे क्षेत्रको दोहन, बर्सेनि बढ्दो गर्मी र जल स्रोत संरक्षणप्रति सरकारको कमजोर दृष्टिकोणले आजको संकटलाई निम्त्याएको हो।

यही पृष्ठभूमिमा दीर्घकालीन दृष्टिकोणका साथ “पूर्व–पश्चिम चुरे फेदी नहर” को अवधारणा अत्यन्तै दूरदर्शी र यथार्थपरक देखिन्छ। चुरे क्षेत्रको फेद हुँदै पूर्वदेखि पश्चिमसम्म नहर निर्माण गरिने योजना केवल सिँचाइ सुविधा विस्तार वा जल संग्रह मात्र होइन, यसले चुरे र मधेस दुबैको जीवन र भविष्य सम्हाल्ने सम्भावना बोकेको छ।

नहर निर्माणले वर्षात्को पानीलाई संग्रह गरेर जलाशयमा परिणत गर्न सक्छ। यसले भूमिगत जल पुनर्भरणमा योगदान पुर्‍याउँछ, जसबाट चापाकल र इनारमा पानीको स्थायित्व सम्भव हुन्छ। साथसाथै, सिँचाइको विस्तारले कृषि उत्पादनमा गुणात्मक सुधार ल्याउनेछ, जसले किसानको जीवनस्तर सुधार गर्छ।

नहरको किनारमा वृक्षारोपण, सडक निर्माण र हरियाली प्रवद्र्धन गरिएमा वातावरण संरक्षणसँगै पर्यटनको नयाँ सम्भावना पनि खोलिनेछ। जल बिहार, माछा पालन, जल यातायात जस्ता बहुआयामिक योजना समेट्न सकिने यो योजनाले चुरे क्षेत्रका बासिन्दाका लागि रोजगारी सिर्जना, आधारभूत सेवा प्रवाह र सामाजिक उत्थानमा समेत योगदान पुर्याउनेछ।

यसबाहेक नहरको प्रभाव सामाजिक सद्भाव कायम गर्न समेत उपयोगी बन्न सक्छ। जल स्रोतलाई साझा रुपमा उपयोग गर्दा समुदायबीच समन्वय, साझा भावना र सहकार्यको भावना बलियो हुन्छ, जुन विविधता भएको समाजमा अत्यावश्यक पक्ष हो।

तर यति मात्रले पुग्दैन, यस कार्यको सफल कार्यान्वयनका लागि प्रदेश र संघीय सरकारबीच स्पष्ट दायित्व बाँडफाँड, जनसहभागिता, वैज्ञानिक योजना, वातावरणीय अध्ययन र स्थायी संरचना निर्माण अनिवार्य छ। योजना निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता, सहभागिता र उत्तरदायित्वको सुनिश्चितता आवश्यक छ।

यदि हामी अहिले पनि पानीको समस्या प्रति गम्भीर बनिएन भने, निकट भविष्यमा मधेस मरुभूमिमा परिणत हुने खतरा टाढा छैन। त्यसैले सरकार, नीति निर्माताहरू, विकास साझेदार र जनप्रतिनिधिले “चुरे फेदी नहर” को अवधारणालाई केवल सपना होइन, व्यवहारमा परिणत गरौं। किनकि मधेसको पानी संकट समाधान गर्नु भनेको लाखौं नागरिकको जीवन रक्षा गर्नु हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार