चिकित्सकमाथि कुटपिटपछि प्रादेशिक अस्पताल मलंगवाको सेवा ठप्प, बिरामी मारमा

२०८२ श्रावण ७, बुधबार १२:१३

सर्लाही – सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात भएको भन्दै अस्पताल प्रशासनले मंगलबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।

सोमबार राति हड्डीमा चोट बोकेर आएका बिरामीलाई अन्यत्र रेफर गर्ने क्रममा ती बिरामीका आफन्तले अर्थोपेडिक डा. कृष्णजंग साहमाथि कुटपिट गरेका थिए। घटनापछि आक्रोशित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले दोषीलाई कारबाही नभएसम्म सेवा बहिष्कार गर्ने निर्णय गरेका हुन्।

मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहका अनुसार कानुनी प्रक्रिया अघि नबढेसम्म ओपीडी, भर्ना, अपरेसनलगायतका सेवा बन्द गरिनेछ। ‘अस्पतालभित्रै चिकित्सक असुरक्षित भइरहने अवस्था स्वीकार्य छैन,’ उनले भने, ‘दोषीमाथि कानुनी कारबाहीको माग गरिरहेका छौं।’

नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ। संघले चिकित्सकहरूको सुरक्षामा राज्य गम्भीर नभएको आरोपसमेत लगाएको छ।

अस्पतालको सेवा ठप्प हुँदा उपचारका लागि आउने बिरामी भने मर्कामा परेका छन्। दैनिक ओपीडीमा सयौं बिरामी आउने भए पनि मंगलबारदेखि अधिकांश फर्कन बाध्य भएका छन्।

अस्पताल प्रशासनले घटनालाई लिएर चर्को विरोध जनाउनु स्वाभाविक भए पनि, नागरिकको स्वास्थ्यलाई बन्धक बनाएर सेवा ठप्प पार्नु कत्तिसम्म जायज हो भन्ने प्रश्न उठेको छ। यसरी सेवा बन्द गर्दा अस्पताल प्रशासनले कानूनी बाटो समात्नुको साटो जनताको उपचार अधिकार खोसेर दबाबको राजनीति खेलिरहेको देखिन्छ।

जनताको जीवनलाई जोखिममा राखेर माग राख्नु नै चिकित्सकीय नैतिकता हो ? अस्पताल नै बन्द गर्नु र स्वास्थ्य सेवाबाट वञ्चित गर्नु नागरिक अधिकारको घोर उल्लङ्घन हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार