तराई–मधेशको खानेपानी समस्या समाधानका लागि विभागीय समिति गठन

२०८२ श्रावण ७, बुधबार १३:२७

सर्लाही – तराई–मधेश क्षेत्रमा देखिएको दीर्घकालीन खानेपानी समस्यालाई समाधान गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागले दुईवटा समिति गठन गरी स्थलगत अनुगमन प्रक्रिया थालेको छ।

विभागले सहलगानी खानेपानी तथा सरसफाइ आयोजना र विभिन्न क्षेत्रीय कार्यालयका प्राविधिकहरूको संयोजनमा समिति गठन गर्दै समस्या पहिचान, विश्लेषण र समाधानका सुझाव तयार गर्न निर्देशन दिएको छ।

विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार, सहलगानी आयोजनाका निर्देशक नारायणप्रसाद आचार्य र विभागका उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठको संयोजकत्वमा छुट्टाछुट्टै समिति बनाई आजैदेखि फिल्डमा खटाइएको छ।

यी समितिहरूलाई दश दिनभित्र स्थलगत अध्ययनपछि प्रतिवेदन तयार गरी विभागमा बुझाउन भनिएको छ। आचार्य नेतृत्वको समितिमा मिहिरचन्द्र आचार्य, किरण विष्ट र सुधिरकुमार साह रहेका छन् भने श्रेष्ठ नेतृत्वको समितिमा विपुलकुमार लाल दास, प्रदीपकुमार साह र चन्द्रकुमार श्रेष्ठ सहभागी छन्।

समितिहरूले जनकपुर, वीरगञ्जलगायतका क्षेत्रको खानेपानी अवस्थाबारे गहिरो मूल्यांकन गर्दै आवश्यक कार्ययोजना तयार पार्ने छन्। विभागका अनुसार पछिल्ला वर्षहरूमा तराई–मधेशका विभिन्न जिल्लाहरूमा सुरक्षित र पर्याप्त खानेपानीको अभाव देखिँदै आएको छ।

यिनै समस्यालाई सम्बोधन गर्न तत्काल स्थलगत अध्ययन र दीर्घकालीन योजना तयार पार्ने उद्देश्यले समिति परिचालन गरिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार