सर्लाही – अबदेखि कुनै पनि अभियुक्तको तस्बिर वा भिडियो सार्वजनिक गर्न नपाइने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका सबै प्रहरी कार्यालयलाई पक्राउ परेकाको अनुहार सार्वजनिक नगर्न स्पष्ट निर्देशन दिएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार पत्रकार सम्मेलन वा कुनै पनि सूचना दिँदा अभियुक्तको फोटो वा भिडियो देखाउने कार्य तत्काल बन्द गर्न भनिएको छ।

प्रहरीको यो निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त निर्देशनपछि आएको हो। कार्यालयले असार महिनामै अभियुक्तको गोपनीयता संरक्षण गर्नुपर्ने भन्दै प्रहरीलाई यस्तो निर्देशन दिएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले निर्णय कार्यान्वयनमा ल्याउँदै सबै मातहत युनिटमा परिपत्र पठाएको हो।
यद्यपि, प्रवक्ता घिमिरेले अपवादका रूपमा कुनै जघन्य अपराधका तस्बिर वा भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आएमा सम्बद्ध निकायको स्वीकृति लिएर मात्र सार्वजनिक गर्न सकिने स्पष्ट पारेका छन्। यस निर्णयसँगै प्रहरी अब अभियुक्तको तस्बिर तथा भिडियो सार्वजनिक गर्दा बढी संवेदनशील र कानुनी मर्यादाभित्र रहने देखिएको छ।





