सर्लाही – मधेस प्रदेशमा सत्तारुढ गठबन्धनभित्र नेतृत्व बदल्ने विषयमा केहि समय देखि तनाव चुलिएको छ। एक वर्षअघि भएको ‘आलोपालो नेतृत्व’को मौखिक सहमतिलाई लिएर कांग्रेसले सरकारको नेतृत्व आफैंले लिनुपर्ने माग गरिरहेको छ भने, वर्तमान मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिस कुमार सिंहले यस्तो सहमति कहिल्यै नभएको दाबी गरेका छन्।
जनमत पार्टीको नेतृत्वमा सरकार गठन भएको झण्डै १४ महिना पुगिसकेको छ। २०८० जेठ २५ मा सतिस कुमार सिंहले मुख्यमन्त्रीको पद सम्हालेका थिए। त्यसबेलाको केन्द्र–प्रदेश दुवै तहमा बनेको कांग्रेस–एमाले गठबन्धनको लहरमा मधेसमा कांग्रेस, एमाले, जनमत र लोसपाको सहभागितामा चार दलीय सरकार बनेको थियो।

कांग्रेसको दाबी : आलोपालो सहमति अनुसार अब हाम्रो पालो
कांग्रेस मधेस संसदीय दलका नेता कृष्ण यादवको नेतृत्वमा पार्टीले प्रदेश सरकारको नेतृत्व आफूले लिनुपर्ने भन्दै केन्द्रमा सक्रिय कूटनीति थालेको छ। यादवले ‘एक वर्षमा सरकारको नेतृत्व फेर्ने सहमति भएको’ भन्दै अहिले कांग्रेसको पालो आएको दाबी गरेका छन्।
उनले भने, “पहिलो वर्ष जनमतले नेतृत्व गर्यो, अब कांग्रेसको पालो हो। गठबन्धन यथावत् रहने हो, तर नेतृत्व परिवर्तन हुनैपर्छ।”
जनमतको जवाफ : नेतृत्व फेरबदलको सहमति नै थिएन
यता मुख्यमन्त्री सिंहले भने आलोपालो सहमतिका कुरा कल्पनामा आधारित भएको बताउँदै अहिलेको सरकार स्थिर रहेको दाबी गरेका छन्। “मधेसमा कसैको एकल बहुमत छैन। यो गठबन्धनकै सरकार हो,” उनले भने, “तर शीर्ष नेतृत्वले निर्देशन दियो भने फेरबदल स्वतः हुन्छ। तर आलोपालो भन्ने कुनै सहमति थिएन।”
एमाले र लोसपाको मौन समर्थन
एमालेका नेता तथा प्रदेश भौतिकमन्त्री सरोज यादवले सरकार गठनको बेला आलोपालो नेतृत्वको मौखिक कुरा भएको स्वीकार गरेका छन्। तर, हालसम्म केन्द्रबाट कुनै आधिकारिक निर्देशन नआएको भन्दै सरकार अस्थिर नहुने दाबी गरेका छन्।
उनले भने, “यो विषयमा गठबन्धनभित्र छलफल आवश्यक छ। तर सरकार अझै बलियो छ, तत्काल अस्थिरता देखिएको छैन।”





