सर्लाहीमा तस्बिरकै सुराकीमा कटुवा पेस्तोल फेला, दुई जना पक्राउ

२०८२ श्रावण ८, बिहीबार १९:२०

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका – ८ स्थित गोरखकाली प्रहरी चौकी अगाडि ट्राफिकसहितको संयुक्त प्रहरी टोलीले दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ।

बुधबार साँझ मलंगवा – ६ सुखैनियाका मोहन पासवानले चलाएको बिआर ३० ए १०७१ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँचका लागि रोकेपछि प्रहरीले सवारी कागजात मागेको थियो। कागजात नदेखाएपछि उनले मोबाइलमा रहेको बताउँदै मोबाइल देखाउँदा, उनको करिब १२ वर्षीय छोरा नवल पासवानको मोबाइलमा कटुवा पेस्तोल ताकेको तस्बिर फेला परेको थियो।

प्रहरीले सोधपुछ गर्दा उक्त हतियार सर्लाही मलंगवा–६ कै धनिपत पासवानका २३ वर्षीय छोरा रामहुलास पासवानको भएको खुल्न आएको हो। त्यसपछि मोहन पासवानलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको नेतृत्वमा ९ जना प्रहरी टोली खटाइएको थियो।

प्रहरी टोलीले सोही राति ९:३० बजे रामहुलास पासवानलाई पनि नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले कटुवा पेस्तोल घरको पूर्वपट्टि भित्तामा कपडाले बेरेर राखिएको जानकारी दिए। त्यसअनुसार प्रहरीले सो स्थानबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ। पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थपिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार