सर्लाही — लागूऔषध ओसारपसारको सूचनामा भएको प्रहरीले कारबाहीले सर्लाहीको इलाका प्रहरी कार्यालय, हरिवनका तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) किशोर तामाङमाथि गम्भीर प्रश्न उठाएको छ। सुराकीको सूचनामा रातारात गरिएको पक्राउपछि प्रमाण लुकाइएको, भरिया फसाइएको र वास्तविक कारोबारी जोगाइएको आरोप लागेपछि तामाङ विवादमा तानिए र सरुवा भए।
गत २०८१ चैत २४ गते राति लागूऔषध कारोबारको सुराकी पाएपछि तामाङ टोलीसहित हरिवन नगरपालिका–३ डाबरीटोल पुगेका थिए। ना.२४ प ६९०३ नम्बरको मोटरसाइकलमा सवार ३६ वर्षीय मानबहादुर घिसिङलाई प्रहरीले कोरेक्स, ओनरेक्स र विनेक्रक्स गरी ७ सय थान प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लियो।

तर, पछि जिल्ला अदालत मलंगवामा पेस गरिएको अभियोगपत्रमा केवल ४५८ थान लागूऔषध मात्रै देखाइयो। बाँकी २४२ थान कहाँ गयो भन्ने प्रश्नले प्रहरीको कारबाहीमाथि नै शंका उब्जायो। पक्राउ परेका घिसिङले अदालतमा आफू केवल भरिया भएको र वास्तविक कारोबारीलाई प्रहरीले जानीजानी जोगाएको बयान दिए।
त्यसपछि घटनाले नयाँ मोड लियो। घिसिङकी पत्नी मञ्जुकुमारी थिंगलले सार्वजनिक रूपमा आरोप लगाउँदै भनिन्, “इन्सपेक्टर तामाङकै योजनामा मेरो श्रीमानलाई फसाइयो। ७ सय थान लागूऔषध बरामद भएकोमा ४५८ मात्र देखाएर बाँकी सुराकीलाई दिइयो। अहिले तिनै गिरोह खुल्ला रूपमा बिक्री गरिरहेका छन्।”
विवाद चुलिएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरले डिएसपी विजय यादवको नेतृत्वमा छानबिन समिति गठन गर्यो। प्रारम्भिक छानबिनपछि तामाङलाई सर्लाहीबाट हटाइ हालै जिल्ला प्रहरी कार्यालय धनकुटा सरुवा गरिएको छ। तामाङको ठाउँमा काठमाडौं बौद्ध प्रहरी वृत्तका इन्सपेक्टर चन्द्र अधिकारीलाई हरिवन खटाइएको छ।
यसैबीच, तामाङ अर्को विवादमा पनि मुछिएका थिए। हरिवनस्थित मिजाज इँटा उद्योगका सञ्चालकहरूबीचको चेक बाउन्स मुद्दामा कानुनी प्रक्रिया नअपनाई जबर्जस्ती मिलापत्र गराएको आरोप तामाङमाथि लागेको छ। उक्त विषयमा पीडित पक्षले प्रहरी प्रधान कार्यालयमा लिखित उजुरी समेत दिएका छन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार लागूऔषधको प्रमाण संख्यामा भएको अन्तरबारे प्रदेश प्रहरी कार्यालयले र चेक बाउन्स प्रकरणबारे जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्। “सम्बन्धित दुवै घटनामा अनुसन्धान अगाडि बढिरहेको छ,” राईले भने, “प्राप्त प्रमाणका आधारमा आवश्यक निर्णय लिइनेछ।”
पछील्लो समय सर्लाहीसहित मधेशका प्रहरीहरु विवादमा तानिदै आएका छन। यसरि सुराकीको योजनामा पक्राउ, प्रमाणमा मिलावट, वास्तविक कारोबारीको जोगावट र भरियामाथि आरोप, यस्ता आरोपसँगै सरुवा गरिएको इन्सपेक्टर तामाङमाथिको यो प्रकरणले प्रहरी संगठनभित्रको स्वच्छता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।





