जनकपुर – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी देशको दोस्रो सबैभन्दा लामो कार्यकाल पूरा गर्ने प्रधानमन्त्री बनेका छन्। शुक्रबारसम्म मोदीको कार्यकाल ४०७८ दिन पुगेको छ, जससँगै उनले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको ४०७७ दिन लामो कार्यकाललाई उछिनेका हुन्।
स्वतन्त्र भारतमा हालसम्म सबैभन्दा लामो समय प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता जवाहरलाल नेहरू हुन्। उनले १६ वर्ष २८६ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

मोदी स्वतन्त्रता पछि जन्मिएका गैर-कांग्रेसी र गैर-हिन्दीभाषी राज्यबाट आएका पहिलो प्रधानमन्त्री हुन्, जसले सबैभन्दा लामो समयसम्म पद सम्हालेका छन्। सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बनेका मोदी लगातार दुई कार्यकाल पुरा गरिसकेका छन्। सन् २०२४ को निर्वाचनपछि उनी तेस्रो कार्यकालमा प्रवेश गरिसकेका छन्।
राज्य सरकार र केन्द्र सरकार दुबैको नेतृत्व गर्ने हिसाबले पनि मोदी सबैभन्दा लामो समय सत्तामा बसेका नेता बनेका छन्। उनले २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्रीका रुपमा काम गरे भने त्यसपछि प्रधानमन्त्रीका रुपमा निरन्तर सरकारको नेतृत्व गरिरहेका छन्। यस अवधिमा उनले कुल २४ वर्ष सरकारको नेतृत्व गरेका छन्।
मोदी पूर्ण बहुमतको साथ लगातार दुईपटक प्रधानमन्त्री बन्ने पहिलो गैर-कांग्रेसी नेता हुन्। उनी इन्दिरा गान्धीपछि पूर्ण बहुमतसहित पुनः सत्तामा फर्कने दोस्रो प्रधानमन्त्री हुन्। त्यस्तै, पं. नेहरूपछि लगातार तीन आम निर्वाचन जित्ने नेताको रूपमा पनि मोदी स्थापित भएका छन्।
गुजरातमा उनले २००२, २००७ र २०१२ को विधानसभा चुनाव जितेका थिए। त्यसपछि उनले २०१४, २०१९ र २०२४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई विजय दिलाएका छन्। पार्टी नेतृत्वमा रहँदै लगातार छ पटक चुनाव जित्ने उनी एक मात्र नेता हुन्।





