सर्लाही – सिरहाको गोलबजारमा घरायसी विवादले हिंसात्मक रूप लिँदा एक जना भाईले आफ्नै दाईलाई खुकुरी प्रहार गरि हत्या गरेका छन्। जिल्लाको गोलबजार नगरपालिका–३ मुसहरनिया पुराण्डिह टोलमा बिहीबार राति घरायसी विवादका क्रममा २५ वर्षीय श्याम सदाले र आफ्नै दाजु ३५ वर्षीय मोतिराम सदा (उर्फ लेलहा)लाई खुकुरी प्रहार गरि हत्या गरेका हुन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा श्याम र मृतककी पत्नी करिब १९ वर्षकि कौशिल्या देवी बीच घरेलु झगडा भइरहेको बेला मोतिरामले हस्तक्षेप गर्न खोज्दा श्यामले खुकुरी निकाली दाजुमाथि आक्रमण गरेका थिए। खुकुरीको प्रहार मोतिरामको छातीमा लागेको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। घटना पश्चात श्याम सदा जंगलतर्फ भागेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार आरोपीको खोजी भइरहेको छ भने मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।





