सर्लाही – सर्लाहीको बलरा नगरपालिकामा ‘एक विद्यालय, एक ल्यापटप बितरण’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ११ वटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको छ।
बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाको हातबाट विद्यालयका प्रधानाध्यापकहरुलाई आज ल्यापटप प्रदान गरिएको हो। कार्यक्रम अन्तर्गत पालिकाका प्रत्येक वडाबाट एक विद्यालय छनोट गरी ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख कुशवाहाले सूचना प्रविधिको प्रयोगमार्फत शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले ल्यापटप वितरण गरिएको धड्कन खबरसंग बताए। उनका अनुसार दोस्रो चरणमा बाँकी रहेका सबै सामुदायिक विद्यालयलाई ल्यापटप प्रदान गरिने छ।
सूचना प्रविधिको पहुँचले शिक्षामा नवीनतम प्रविधिको प्रयोग, विद्यार्थीको सिकाइ सुधार र शिक्षकको पठनपाठन प्रक्रिया अझ प्रभावकारी हुने विश्वास नगरपालिकाले लिएको छ। कार्यक्रमले डिजिटल शिक्षाको आधार बलियो बनाउने अपेक्षा गरिएको छ।





